सगरमाथा आवासीय माध्यमिक विद्यालय, देवदह–७ शीतलनगरमा कक्षा ५ मा अध्ययनरत विद्यार्थीका अभिभावक र शिक्षकबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
August 7, 2026
August 7, 2026
कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका प्राचार्य कृष्णप्रसाद पौडेलले विद्यार्थीको समग्र विकासका लागि शिक्षक र अभिभावकबीचको निरन्तर सहकार्य अपरिहार्य रहेको बताउनुभयो। उहाँले शिक्षाको उद्देश्य केवल किताबी ज्ञान हासिल गर्नु मात्र नभई परिवार, समाज र राष्ट्रप्रति प्रेम, करुणा र उत्तरदायित्वको भावना विकास गर्दै असल र उपकारी नागरिक तयार गर्नु पनि रहेको उल्लेख गर्नुभयो।
अन्तरक्रिया कार्यक्रममा सहभागी अधिकांश अभिभावकहरूले शिक्षालाई अझ व्यावहारिक, जीवनोपयोगी र सीपमूलक बनाउनुपर्ने आवश्यकता औंल्याएका थिए। कार्यक्रममा कक्षा ५ का कक्षा शिक्षक काशीराम थापा, विशाल सोमरे, निमप्रसाद सापकोटा र दृष्टि अदैले विद्यार्थीहरूको शैक्षिक, व्यवहारिक तथा समष्टिगत प्रगतिको विवरण प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रममा कक्षा ५ मा अध्ययनरत विद्यार्थीका ६० जना अभिभावकको सहभागिता रहेको थियो। विद्यालयका प्राचार्य कृष्णप्रसाद पौडेलको अध्यक्षता तथा रस्सा के.सी.को सञ्चालनमा कार्यक्रम सम्पन्न भएको विद्यालयले जनाएको छ।