भोटेकोसी बाढी प्रभावितका लागि सगरमाथाको २ लाख २० हजार सहयोग
September 2, 2026
September 2, 2026
भोटेकोसी बाढी प्रभावितको राहत तथा उद्धारका लागि देवदह–७ शितलनगरस्थित सगरमाथा आवासीय माध्यमिक विद्यालयले २ लाख २० हजार ९ सय ३९ रुपैयाँ सहयोग गरेको छ । विद्यार्थीले एक दिनको खाजा खर्च, शिक्षक तथा कर्मचारीले एक दिनको तलब र विद्यालयले आफ्नो तर्फबाट ५१ हजार रुपैयाँ थप गरी उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको विद्यालयले जनाएको छ ।
“प्ले ग्रुपदेखि कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीबाट एक दिनको खाजा खर्च बराबर ८० हजार १० रुपैयाँ संकलन भएको थियो । शिक्षक तथा कर्मचारीले एक दिनको तलब बराबर ८९ हजार ९ सय २९ रुपैयाँ सहयोग गर्नुभयो । त्यसमा विद्यालयले ५१ हजार रुपैयाँ थप गरी कोषमा जम्मा गरेका छौँ,” विद्यालयका प्रिन्सिपल कृष्णप्रसाद पौडेलले भने ।
भोटेकोसी बाढीबाट प्रभावित परिवारको पीडामा विद्यालय परिवारले पनि आफ्नो तर्फबाट सहयोग गर्नुपर्छ भन्ने उद्देश्यले विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई अभियानमा सहभागी गराइएको पौडेलले बताए । विद्यार्थीको एक दिनको खाजा खर्च र शिक्षक तथा कर्मचारीको एक दिनको तलबबाट संकलित रकममा विद्यालयले समेत योगदान थपेर कोषमा जम्मा गरिएको उनले बताए।
विद्यालयले आफ्ना विद्यार्थीलाई पढाइसँगै विपद्का समयमा प्रभावित समुदायप्रति जिम्मेवार बन्ने र सामाजिक उत्तरदायित्व बहन गर्ने भावना विकास गराउने उद्देश्यले समेत अभियान सञ्चालन गरेको जनाएको छ ।